
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा फरक मत भनेर विवाद हुने विषय नआएको दाबी गरेका छन् ।
बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरी सुझाव आएको र कुनै बिवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र बिचार आएको जिकिर गरे । लेखनाथ न्यौपानेको फरक मत पनि आफुले हेरेको र आफुलाई सहयोग पुग्नेगरीनै सुझाव आएको उनको भनाइ छ ।
समूहगत छलफलका सबै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केही परिमार्जन गर्न सुझाव दिएको उनले बताए । उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए ।