काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमार स्वदेश फर्किएकी छन् । नेपाल छोड्नुअघि फतिमाले पत्रकार सम्मेलान गर्दै एमसीसी संसदबाट छिटो पारित गर्नुपर्ने नेपाललाई दबाब दिएकी छन् ।
फतिमाले नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलनमा समयको विलम्बलाई बुझ्न नेपाल सरकारसँग आग्रह गरेकी छन् । उनले नेपाल र अमेरिकाको सम्बन्ध एमसीसीमा मात्र सिमित नभएको बताउदै यसलाई कार्यान्वयन गर्ने नगर्ने नेपाल सरकारको हातमा रहेको स्पष्ट गरेकी छन् ।
उनले एमसीसी बारे सबै पक्ष सकरात्मक आएको बताउदै संसदबाट पारित हुनेमा आशा व्यक्त गरकी छन् । एमसीसी नेपाली जनताको हितमा रहेको बताउदै फातिमाले अब यसलाई पारित गर्न ढिला गर्न नहुनेमा जोड दिएकी छन् । विहिबार काठमाडौँ आएकी फतिमाले सोहि दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेटवार्ता गरेकी थिइन् । एमाले अध्यक्ष ओलीले भेटवार्तामा सरकारले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षले आफ्नो सार्वजनिक गर्ने जवाफ दिएका थिए ।

त्यस्तै फातिमाले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेकी थिइन् । सो भेटमा प्रचण्डले एमसीसी आफ्नो पार्टी एक्लैले अगाडी बढाउने अवस्था नरहेको बताउदै दलहरुबीच सहमति आवश्यक रहेको ब्रिफिङ गरेका थिए । फातिमाको टोलिले उर्जा मन्त्रि पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको थियो । सबै भेटमा नेताहरुले राष्ट्रिय सहमति वा प्रमुख दलहरुबीचको सहमति बिना एमसीसी पारित हुनसक्ने तर अहिले त्यो सम्भावना नरहेको सन्देश अमेरिकी टोलीलाई दिएका छन् । आमरुपमा नेपाली जनता एमसीसीको विरोधमा देखिएका बेला सरकार र सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीको पक्षमा आफ्नो धारणा दिने अवस्था अहिले देखिएको छैन । एमसीसीका बारेमा कुनै पनि दलभित्र एक मत रहेको छैन । काँग्रेसमा प्रधानमन्त्री देउवा एमसीसी छिटो पारित गर्ने पक्षमा भए पनि नेताहरुको एक समुह एमसीसीको विरोधमा छ ।