
काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र पनि माफियाहरुले व्यवसाय सञ्चालन गर्ने तयारी थालेका छन् । उक्त संग्रहालय परिसरभित्रको करिब १० रोपनी जग्गा मिलेमतोमा भाडामा दिइएको पाइएको छ ।
बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको बताइएको छ । सङ्ग्रहालयकै एक कर्मचारीका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा भाडामा दिइएको हो ।

स्रोतका अनुसार बीपीएसले मासिक २ लाख २० हजार मात्र भाडा बुझाउने गरी उक्त जग्गा लिजमा लिएको हो । हरेक तीन वर्षमा सम्झौता थप्ने या नवीकरण गर्नेगरी सो जग्गा भाडामा लिएको लगाइएको छ । हाल दरबारमार्ग क्षेत्रमा प्रतिमहिना ५ लाखदेखि १५ लाख रुपियाँसम्म सटर भाडा रहेको व्यवसायीहरु बताउँछन् । तर दरबार परिसरभित्रैको जग्गा चाहिँ जम्मा २ लाख २० हजारमा भाडामा दिइएको छ । यसमा चलखेल भएको हुनसक्ने आशंका समेत गरिएको छ ।
ऐतिहासिक महत्वको सम्पदा क्षेत्रभित्र रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइनु आपत्तिजनक रहेको सरोकारवाला बताउँछन् । भाडा सम्झौता गरिसकेपश्चात हाल त्यहाँ विभिन्न स्थायी संरचना बनाइँदै छ । तर रोचक कुरा त के छ भने ती संरचनाहरुको नक्सा पास गरिएको छैन । नक्सापास बिना नै भौतिक संरचना बनाइरहेको बुझिएको छ । जग्गा भाडामा लगाउन समेत कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा २०७७ साउनमा बोलपत्र आह्वान गरिएको पाइएको छ ।