काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट ‘केएफडब्लु’ बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार तीन सय २० रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्सलाई ३२ लाख ८ हजार ८ सय रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकम एक समारोहका बीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नेपालका लागि जर्मन राजदूतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि ‘प्रोजेक्ट एक्सक्यूटिङ एजेन्सी (पीईए)’ को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।


यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय