काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध करिब ७ करोड बराबरीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५५ सालमा सहायक वन अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका निमित्त वन निर्देशक विष्टले २०७७ सम्म पदको दुरुपयोग गरी ६ करोड ८७ लाख ५७ हजारभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले सोही रकम बराबरको बिगो कायम गरी उनीविरुद्द आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरु र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रही भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।

बिष्ट २०५५ साल वैशाखमा वन सेवाको वन अधिकृत तृतीय श्रेणी प्राविधिक पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। २०६८ साल चैतमा जिल्ला वन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका उनी सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, धनगढीमा निमित्त वन निर्देशकका रूपमा कार्यरत छन्। बिष्टले सार्वजनिक पदमा बहाल रहेको २२ वर्ष (२०५५–२०७७) मा आर्जेको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो। उनले कमाएको, खर्च, लगानीको आयव्यय प्रवाह गर्दा वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रूपैयाँ देखिएको छ।

त्यसै अवधिमा उनको सम्पत्ति, खर्च, लगानी २४ करोड २४ लाख ६९ हजार भेटिएको छ। आम्दानीभन्दा बढी लगानी देखिएको ६ करोड ८७ लाख ५७ हजार रूपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको ठहर छ।

बिष्टले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै ६ करोड ८७ लाख ५७ हजार रूपैयाँ सजाय हुनुका साथै निजले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिसमेत असुलउपर, जफत गर्न मागदाबी आरोपपत्रमा गरिएको छ।

घरजग्गा, बैंक खातामा रहेको मौज्दातमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबरको बिगो कायम गरी उनकी पत्नीको नामको सम्पत्ति पनि जफत गर्न अख्तियारले माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय