काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पहिलो पटक सम्बोधन गर्दै नीति तथा कार्यक्रममा सैनिक जवानलाई घर बनाउन २५ लाख कर्जा दिने स्किम ल्याउनुभएको छ ।
घर बनाउन सहुलियत कर्जा दिने विषय प्रधानसेनापतिको नीति तथा कार्यक्रममा परेपछि सेनामा उत्साह जागेको छ । दश वर्ष नोकरी पुगिसकेका सेनाका सबै सेवारत जवानहरुले घर बनाउन सहुलियत कर्जा पाउने सैनिक जनसम्पर्क कार्यालयले जनाएको छ । नीतिअनुसार बढीमा २५ लाखसम्म घर खर्च प्राप्त गर्न सक्ने छन् ।
कर्जा कसरी वितरण हुन्छ, पाउन के–के गर्नुपर्छ र निकासा कसरी हुन्छ भन्ने विस्तृत विवरणबारे गृहकार्य हुँदैछ । कल्याणकारी योजना महानिर्देशनालयले यसको विषयमा गृहकार्य गरेर नीति बनाउने छ ।
एकैपटक २५ लाख पाउने नभइ चरणबद्ध रुपमा कर्मचारी सञ्चय कोषले गरेको जस्तो नक्सा पास गर्दा अथवा जग खन्दाको समय उपलब्ध गराउन सक्ने बताइएको छ । घर कर्जा दिने मोडलसँग काम गर्न प्रयास भइरहेको पनि बताएको छ । बैँकसँग सहुलियत दरमा काम गर्न सकिने र सेनाले आफैं पनि सहुलियत दरमा कर्जा उपलब्ध गराउन सक्ने हुुँदा विभिन्न मोडल प्रयोगमा आउन सक्ने जानकारी दिइएको छ ।
