
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्माले भनेका छन्, ‘ शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ ।’

उक्त बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ वटा राजनीतिक दललाई उपस्थित हुन पत्राचार गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन तयारी, मतदाता नामावलीको पछिल्लो अध्यावधि विवरणबारे बैठकको एजेन्डा तय गरिएको बताइएको छ ।
राष्ट्रिय सभामा रिक्त १९ जना सदस्यको निर्वाचनमा आगामी माघ १२ गते हुँदैछ । हाल आयोगले उक्त निर्वाचन सम्बन्धी आचार संहिता लागू गरेको छ । यस्तै स्थानीय तहको पदाधिकारीको पदावधि २०७९ जेठ ५ गते सकिँदैछ ।
स्थानीय तह निर्वाचन ऐन अनुसार पदावधि सकिनुभन्दा २ महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । संविधानमा भने पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ ।