काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सिफारिस गरेको छ।

मन्त्रालयले दाहालमाथि छानबीन समितिको प्रतिवेदनका आधारमा फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीलाई र मिलेमतोमा ठेक्का लगाएको र अधिकार क्षेत्रभन्दा बाहिर गरेर सम्झौता गरेको विषयमा अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको छ।

दाहालले नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिन क्याफटेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएका थिए। बतास समूहले नयाँ संरचना बनाएपछि विवाद बाहिर आएको थियो। मन्त्रालयले गरेको छानबीनका क्रममा दाहालले अधिकारभन्दा गएर सम्झौता गरेको पाइएको छ।

बतास समूहले सम्झौताभन्दा बढी करीब १४ रोपनी जमिनमा संरचना निर्माण गर्दा दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पूरा नगरेको छानबीन समितिको ठहर छ। छानबीन समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार दाहालले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय