
पोखरा । उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर अन्तर्गत स्याङ्जा र पर्वत खण्डमा कतै काम तीव्र गतिमा अगाडि बढेको छ भने कतै काम सुस्त छ ।
कालोपत्रे गर्नको लागि पर्वत तथा स्याङ्जा खण्डमा स्तर उन्नतिको काम भइरहेको छ । उत्तर दक्षिण जोड्ने काली गण्डकी कोरिडोर अन्तर्गत पर्वतको अर्मादी देखि स्याङ्जाको मिर्मीसम्मकोे ५४ किमी सडक खण्डको स्तरोन्नतिका साथै कालोपत्रे गर्ने काम ६ ओटा निर्माण कम्पनीले गरिरहेका छन् ।

उक्त खण्डको मिर्मी देखि फलेवास ढिक सम्मको सडक खण्डमा कालोपत्रेको लागि काम भइरहेको छ । सेतीवेणी देखि फलेवास ढिक सम्मको सडक खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको छ ।
सेतीबेणी देखि पर्वतको रानीपानी सम्म ७ किलोमिटर सडकमा प्यासिफिक जलजला जे.भि.ले कालोपत्रे गर्ने काम गरेको छ । यो खण्डमा ६५ प्रतिशत भन्दा बढी सकिएको छ ।
सेतीवेणी देखि फलेवास ढिक सम्मको सडक खण्डमा जति सन्तोषजनक काम भएको छ अन्य खण्डमा भने त्यत्ति काम हुन सकेको छैन । मिर्मी देखि सेतीबेणी सम्मको सडक खण्डको स्तरोन्नतिका साथै कालोपत्रे गर्न दुई निर्माण कम्पनीले काम थालेका छन् । उक्त सडक खण्डमा पनि स्तरोन्नति तथा फाउन्डेसनको काम भइरहेको छ ।
मिर्मी देखि सेतीबेणी बिचको भीरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको बताइन्छ ।
सूर्य कन्स्ट्रक्सनको चरम लापरबाही, १५ दिनभित्र काम नगरे कालोसूचीमा राखिने
त्यस्तै कालिगण्डकी कोरिडोर अन्तर्गत फलेवास—मोदीवेणी—अर्मादी सडक खण्डको ट्र्याक वपन तथा स्तरोन्नति गर्ने जिम्मा पाएको सूर्य कन्स्ट्रक्सन प्रा.लि.को चरम लापरबाहीको कारण उक्त खण्डले कुनै गति लिन सकेको छैन ।
उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर अन्तर्गत पर्वत खण्डको फलेवास—मोदीवेणी—अर्मादी सडक खण्डको कामले कुनै गति लिन नसकेको हो ।
सम्झौता गरेको ५ बर्ष बितिसक्दा पनि सूर्य कन्स्ट्रक्सनले उक्त खण्डको काम गर्न आनाकानी गरिरहेको स्थानीयको भनाइ छ ।
कार्यालयले पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम शुरु नगरेपछि अब कारबाहीको प्रक्रिया अगाडि बढाइने भएको छ । सूर्य कन्स्ट्रक्सनलाई कालिगण्डकी कोरिडोर आयोजनाको कार्यालय पाल्पाले अन्तिम चेतावनी भन्दै १५ दिने अल्टिमेटम दिएर पत्र पठाएको छ । कार्यालयले १५ दिन भित्र काम सुचारु नगरे कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
जनप्रतिनिधिको नियमित खबरदारी
कालिगण्डकी कोरिडोर समयमै निर्माण सम्पन्न गराउन गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्साल, काली गण्डकी कोरिडोर आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारी, अन्य प्राविधिक तथा सम्बन्धित पालिकाका जनप्रतिनिधि सहित कोरिडोर अन्तर्गतको मिर्मी—सेतीवेणी—रानीपानी—फलेवास—अमार्दी सडक खण्डको अनुगमन गर्नुभएको छ ।
अनुगमनको क्रममा लम्सालले स्याङ्जा र पर्वतका नागरिकसँग भेट गरी कोरिडोर निर्माणमा देखिएको समस्याको बारेमा समेत छलफल गर्नुभयो ।
छलफलका क्रममा स्थानियवासीले कोरिडोर निर्माण गर्दा घर, गोठ, मा असर परेको र नहर तथा कुलो, खेत, घर जाने, बाटो पुरिएको जस्ता समस्या सुनाएका थिए ।
अनुगमनको क्रममा देखिएका नागरिकका समस्या तत्काल समाधान गर्न लम्सालले आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । नागरिकले उठाएका सबै समस्याको समाधान पनि गरिने भएको छ । आयोजनाले पुरिएका कुलो, बाटो बनाइदिने भएको छ ।
विकासको मेरुदण्ड मानिएको कालिगण्डकी कोरिडोरको काम समयमै सम्पन्न गर्न पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिहरूले नियमित खबरदारी गरिरहेका छन् ।
काम ढिला नहोस् भनेर राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि बेला बेला अनुगमन तथा निरीक्षणमा पुग्नुहुन्छ ।
काम गर्ने सिलसिलामा कहीँ कतै समस्या आए कार्यक्षेत्रमै जनप्रतिनिधिहरू पुग्ने गर्दछन् ।
स्थानीयको मुहार फेर्दै कोरिडोर
स्याङ्जाको स्यालबासकी मनमाया थापा हिजो आज निकै खुसी हुनुहुन्छ । घर छेउमै राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सडक आएपछि उहाँ दङ्ग हुनुहुन्छ ।
यातायात सुविधा लिन दुई घण्टा सम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । यत्ति मात्र होइन बिरामी हुँदा स्ट्रेचरमा बोकेर लैजानुपर्ने समस्याबाट पनि गाउँलेले मुक्ति पाएका छन् ।
गण्डकी र लुम्बिनी प्रदेशका ९ वटा जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रूपमा यो सडकलाई हेरिएको छ । पर्वतलाई चीन र भारत सँग जोडने काली गण्डकी लोक मार्गको निर्माण कार्य सम्पन्न भए पश्चात् उपभोग्य सामानहरू सहजै चीनबाट आयात गर्न सकिने छ ।
आँधिखोला र लमाएखोला मोटरेवल पुल यसै बर्ष सञ्चालनमा आउने
कालिगण्डकी कोरिडोर पर्ने स्याङ्जा–पर्वत खण्डमा ४ वटा मोटरेवल पुल बनाउनुपर्ने छ । त्यसमध्ये मोदीखोला र सेती खोलामा मोटरेवल पुल निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माण थालेको चार बर्ष बित्दा पनि अझै काम सम्पन्न हुन नसकेको कालिगण्डकी कोरिडोर अन्तर्गत मिर्मी स्थित आँधिखोला मोटरेवल पुलको काम यो बर्ष पुरा हुने भएको छ ।
उक्त स्थानमा मोटरेवल पुल यही बर्ष नै सञ्चालनमा आउने भएको छ । स्टिल ट्रस्टको ब्रिज फोल्डिङ गर्ने खालको हुन्छ । त्यो ल्याएर तिन दिनमै जडान गर्न सकिन्छ । त्यसैले पनि उक्त स्थानको मोटरेवल पुल बन्न धेरै समय लाग्ने छैन ।
भौगोलिक कठिनाइका कारण लामो समयदेखि अलपत्र परेको फलेवास ढिकस्थित लमाए खोलामा पनि तत्कालको लागि बेलिब्रिज निर्माण गरेर गाडी गुढ्ने बनाइने भएको छ ।