
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारतीय अतिक्रमित भूमिमा सडक निर्माण भइरहँदा नेपाल सरकार चुँ नबोल्नु रहस्यमय भएको बताएको छ ।
राप्रपाले एक बिज्ञप्ति जारी गर्दै कालापनी, लिपुलेक र लिम्पीयाधुरा नेपाली भूमि भएकोले भारतले हाल बनाइरहेको सडक रोक्नुपर्ने र भारतको प्रतिवाद गर्नुपर्ने जनाएको छ ।

तर नेपाली भूमिमा भारतले खुलमखुला अभिव्यक्ति दिँदै त्यतिका मनोमानी गरिरहँदा पनि नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय भएको बिज्ञप्तिमा जनाइएको छ ।
‘कालापानी, लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ,‘ तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय छ।’
त्यस्तैगरी राप्रपाले भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।
भारतले लामोसमय अघिदेखि कालापानी लिपुलेकमा सडक निर्माण गरिरहेको छ । तर नेपाल सरकारले भारतलाई कुनैपनि प्रतिकृया दिएको छैन ।
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनाताहरुमाझ कालापानी लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको भन्दै खुलमखुल्ला अभिव्यक्ति दिएका थिए ।