
काठमाडौँ । कोरोना महामारी बढ्दै गएपछि सर्वोच्च अदालतले भोलिदेखि माघ १८ गतेसम्म हाल दिँदै आएको सेवामा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले महामारी बढ्दै गएका कारण सेवाग्राहीको भीड व्यवस्थापन गर्न सेवा कटौती गर्ने निर्णय लिएको हो ।
सेवा कटौती भएसँग सर्वोच्च अदालतले भोलिदेखि ६ प्रकारका सेवा मात्र दिने भएको छ । जस अन्तर्गत बन्दी प्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ ।

यस्तै मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदन, फौजदारी मुद्दा अन्तर्गत थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदन, र थुनुवाको मुद्दामा सुनुवाइ गर्नेछ । यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको र अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनमा सुनुवाइ हुनेछ । यस्तै स्वास्थ्य मापदण्ड अपनाउँदै भीड व्यवस्थापन गरी मुद्दा/निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतले जनाएको छ ।
उच्च तथा जिल्ला अदालत र अरू न्यायाधिकरणको हकमा स्थानीय परिस्थिति आङ्कलन गरी आवश्यक निर्णय लिन सक्ने सर्वोच्चले निर्णय गरेको सर्वोच्च अदालतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन बढ्दै गएपछि सर्वोच्चका न्यायाधीश, मुख्य रजिस्टार लगायत ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको सर्वोच्चले जनाएको छ ।