
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै हुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार बिहान बसेको सत्तापक्षका दलहरूको बैठकपछि कार्कीले भने, “स्थानीय तहको निर्वाचन समयमै कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो।”

निर्वाचन आयोगसँग परामर्श गरेर संविधानले तोकेकै मितिमा स्थानीय चुनाव घोषणा हुने उनले बताए। समयमै स्थानीय चुनाव गरेर प्रभावकारी रूपमा जनतालाई सेवा प्रवाह गर्ने विषयमा सरकार गम्भीर रहेको कार्कीको भनाइ छ।
सत्ता गठबन्धनको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रिय सभा चुनावमा आफ्नो उम्मेदवारलाई कसरी जिताउने भन्ने विषयमा पनि छलफल भएको कार्कीले जानकारी दिए।