
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।
आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो। यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले उल्लेख गरेको छ।

यस्तै आयाेगले पार्टीको झण्डामा रहेको गाईको तस्बिर पनि हटाउन भनेकाे छ। गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो।
नेपालको राष्ट्रिय जनावरको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ।