
काठमाडौं । सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।
उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहरु शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गान्धर कुमार चौलागाईं छन् ।

बढ्दो कोरोनाका कारण यसपटक केन्द्रमा सशस्त्र प्रहरीको मुख्यालय र काठमाडौं उपत्यकाका इकाइहरुबाट उत्कृष्ण घोषित र पुरस्कृत गर्न लागिएको हो । अन्य बाहिनी, गण, गुल्म र बीओपीमा उत्कृष्ट हुनेहरुको घोषणा र पुरस्कार वितरण सोही स्थानमा हुने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २१ औं स्थापना दिवस आज मनाउन लागेको हो । कोरोनाको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा थोरै अधिकारीको मात्र उपस्थितिमा कार्यक्रम गर्न लागिएको छ ।
सशस्त्र प्रहरीले यसअघिका स्थापना दिवसमा जस्तै यसपटक वर्षभरीका उत्कृष्ट कार्यालयको टुङगो लगाएको छ । यसपटक सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश (तत्कालिन प्रदेश २) महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएको छ । बलका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो । यसका प्रमुख डीआईजी गणेश ठाडा मगरले शान्तिसुरक्षा कायम गर्न तथा सीमा अपराध रोकथाम र राजस्व छली बिरुद्ध गरेको कारबाहीका आधारमा बाहिनीलाई उत्कृष्ट मानिएको हो ।
यस्तै बलको चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । यसको नेतृत्व एसएसपी अन्जनीकुमार पोखरेलले गरिरहेका छन् । यस्तै सशस्त्र प्रहरी बल नेपालका रिजर्भ सहित ४६ गणमध्ये कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर उत्कृष्ट हुन सफल भएको छ । हाल सरुवा भएका यसका गणपति एसपी ध्रुब कार्कीले गरेको कार्यका लागि उत्कृष्ट ठहर भएको हो ।