
काभ्रे । जिल्लामा कुनै प्रकारका तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा सझौता हुन नदिने काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रतिबद्धता जनाउनु भएको छ ।
काभ्रे जिल्ला प्रहरी प्रमुख भएर हालै आउनु भएका एसपी जोशीले जिल्लामा व्याप्त तस्करी र गुडागर्दी एवं आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई प्रहरीको कब्जामा ल्याएरै छाड्ने जनाउनु भयो । चोरी तस्करीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशीलतामा बसेर आफू काम गर्ने उहाँको भनाइ छ ।

‘जिल्लामा हुने गुडागर्दी, तस्करी र आर्थिक लेनदेनमा कुनै पनि सझौता हुन दिन्न, आफ्नो संगठन प्रमुखको निर्देशनलाई जहिल्यै आत्मसाथ राख्ने छु,’ उहाँले जिल्लामा पदबहालीपछि केही सञ्चारकर्मीसितको भेटमा भन्नुभयो, ‘नेपाल प्रहरीभित्र कुनै पनि छवि बिगार्ने कोही भेटियो भने त्यस्तालाई तत्काल कारबाही गर्ने छु ।’
आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणम’ लाई मूल नारा मानी त्यसैभित्र रहेर आमनागरिकलाई भयमुक्त वातावरणमा सेवा दिन अहोरात्र खटेर शान्ति सुरक्षाको प्रत्याभूत गराउने एसपी जोशीले बताउनुभयो ।
अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताको उत्तिकै सहयोग प्रहरी संगठनलाई चाहिने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी प्रमुखले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक सेवा तथा सूचनाहरु सही समयमा सबैलाई उपलब्ध गराउने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।
जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नकिने जिकिर गर्दै आम काभ्रेबासीले प्रहरीलाई समयमा नै सूचना दिई जिल्लाको बारेमा प्रहरीलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
आफू मातहतका सबै इलाक र चौकीका प्रमुखलाई जिल्ला कार्यालयमा बोलाई एसपी जोशीले ८ बुँदे निर्देशनसमेत दिनुभएको छ ।