
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी चुनावमा गठबन्धनसँग नमिलिकन एक्लै चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार शेखर समूहको बसेको भर्चुअल बैठकले सभापति शेरबहादुर देउवाको एक्लौटी निर्णयविरुद्ध उभिँदै आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा सहभागी भएका नेताहरुले निर्वाचनको मितिका विषयमा सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै आक्रोश पोखेका थिए ।

कांग्रेसलाई असर पार्ने विषयमा सभापति देउवाले कुनै विचार नगरी स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनसँग निर्णयमा पुग्न नहुने नेता अर्जुन नरसिंह केसीले बताएका छन् ।
उनका अनुसार निर्वाचनजस्तो गम्भीर विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्ने भए पनि पार्टीमा छलफल नै नगरेर गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ ।
बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागी रहेका थिए । शेखर समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि बैठकमा छलफल गरेको छ ।