
काठमाडौं । नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनोट परीक्षा कार्यक्रमहरु स्थगन गरेको छ । माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा समेत द्रुत गतिमा फैलिरहेको कारण ती कार्यक्रमहरु स्थगन गर्नुपरेको सेनाले आफ्नो सूचनामा उल्लेख गरेको छ । सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुको बार्षिक कार्यतालिका अनुसार भर्ना छनोट परीक्षा कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

सेनाको मुख्यालय जंगी अड्डाले गत १८ पुसमा अधिकृत तहमा २२९ जनाका लागि खोलेको भर्नामा दरखास्त दिन भने पाइने सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । ‘अहिले छनोट परीक्षाहरु मात्र स्थगन गरिएको हो, दरखास्त दिन भने पाइनेछ,’ उनले भने । सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस्तै शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ । माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ ।