
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।
स्थानीय तह निर्वाचनको मिति तोक्न ढिला हुँदा निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने भएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष आयोगले आग्रह गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्नु पर्ने व्यवस्था रहेको छ ।
आयोगले यसअघि नै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरी आगामी वैशाख १४ गते एकै चरणमा र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण आगामी वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरू भइरहेको आयोगले जनाएको छ ।
आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।