काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्सँग स्वीकृति समेत नलिई ‘नेपाल–भारत मैत्री धर्मशाला’ सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज हुने भएको छ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड रूपैयाँ लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न बतास समूहसँग भएको सम्झौता रद्द हुन लागेको हो।

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ।
उक्त समितिले सम्झौता गैरकानुनी भएको जनाउँदै ठेक्का सम्झौतामै मिलेमतो भएको समेत दाबी गरेको थियो। बोलपत्र प्रस्ताव गर्दा अन्य कम्पनीलाई फेल गराउन दान, दातव्य, सामाजिक कार्यमा तीन करोड रूपैयाँ खर्च गरेको हुनुपर्ने सर्त उल्लेख गरिएकाले सम्झौतामा मिलेमतो भएको हुन सक्ने छानबिन समितिले ठहर गरेको थियो।

१९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त धर्मशालामा होटल सञ्चालन गरिरहेको बतास समूहमाथि नियमित भाडासमेत नबुझाएको आरोप छ। सम्झौता रद्द भएपछि धर्मशालामा स्वीकृतिबिना थप संरचना निर्माण भत्काइने र विभिन्न कार्यालयलाई भाडामा दिइएका बाह्य कम्पनीका कार्यालयसमेत हट्ने भएका छन् । राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर प्रभुत्व जमाइरहेको बतास समूहले धर्मशालाभित्र साउना, बाथटव, जिमहल, आरोग्य केन्द्र, सभाहललगायत थुप्रै संरचना निर्माण गरिरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय