
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सह महामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्रीप्रसाद पाण्डे र जीवन परियार सदस्य रहनुभएको छ ।
यसैगरी समितिमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाताकोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहनुभएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीसहित ४६ जना रहने व्यवस्था छ । आजको बैठकले १३ पदाधिकारी र अन्य २४ जना गरी ३७ सदस्यको नाम टुङ्गो लगाएको छ ।