
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कुष्ठ रोग लगायतका उपेक्षित रोगहरुको उन्मुलनका लागि सरकार पुर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
६९औँ विश्व कुष्ठ रोग दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवडाले कुष्ठ रोग, क्षयरोग, पोलियो लगायतका रोगहरुको पुर्ण उन्मुलनका लागि सरकार योजनाबद्ध रुपमा लागिरहेको बताउनुभयो ।

मन्त्री खतिवडाले कुष्ठ रोग लगायतका उपेक्षित रोगहरु पनि अन्य रोग जस्तै सामान्य सरुवा रोग भएको र उपचारपछि निको हुने भएकाले यसका रोगीलाई उपेक्षा गर्न नहुने पनि बताउनुभयो ।
उपेक्षित रोगहरुको अन्त्य गरौं स्वास्थ्य समता हासिल गरौं भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा मन्त्री खतिवडाले कुष्ठ रोगका साथै रेबिज, कालाजार, हात्तिपाइले, मलेरिया लगायतका अन्य उपेक्षित रोगहरुको उन्मुलनमा सरकारले निरन्तर प्रयास गरिरहेको र कोभिड महामारीको समयमा पनि सरकारले नियमित खोप अभियान निरन्तर चलिरहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले गरिवीको रेखामुनी रहेका नागरिकमा उपेक्षित रोगहरु लाग्ने समस्या भएकाले यसबाट मुक्त गराउन सरकारले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कुष्ठ रोग, क्षयरोग लगायतका सरुवा रोगहरु उन्मुलनका लागि सामुदायिक सचेतनाका कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउँदै यसमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कुष्ठरोग लगायतका अन्य उपेक्षित रोगहरुका सम्बन्धमा विज्ञहरुले प्रस्तुतीकरण दिनुभएको थियो ।
विश्व कुष्ठरोग दिवस प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइदै छ ।