
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि बढाएका छन् । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ ।
सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा छन् । सत्ता गठबन्धनकै दलहरूको असहयोगका कारण यसअघि उहाँ एमसीसी अगाडि बढाउन असफल हुनुभएको हो ।

एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवाले सक्रियता देखाए पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने मौन रहेका छन् । दुवै नेताले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएका छन् ।
सत्ता गठबन्धन नै संकटमा पर्ने अवस्था सिर्जना भएपछि माओवादी र एकीकृत समाजवादी पार्टीको दबाबमा सभामुख अग्नि सापकोटाले आइतबार बोलाइको संसद् बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।