
काठमाडौं। प्रहरीले अनलाइन जुवा खेलाइरहेको अवस्थामा बौद्धबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले ८ महिलासहित ७४ जनालाई नियन्त्रणमा लिएको हो।
आइतबार साँझ ७ बजेतिर काठमाडौं महानगरपालिका-६ बौद्धस्थित प्लटिङ नजिकै दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मारेको थियो। त्यस क्रममा नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ६ लाख १९ हजार रुपैयाँ बरामद गरिएको छ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसुर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको थियो। उनीहरुले ३ वटा घरमा २४ सै घण्टा सिफ्ट वाइज अनलाइनमार्फत् जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको थियो।
त्यस्तै माघ ११ गते ठमेलबाट भारतीय नागरिकसहित दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। जुवा खेलाइरहेको अवस्थामा बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंह पक्राउ परेका थिए।