झापा । झापाको कचन कवल गाउँपालिका–४ खुट्टामुनीमा नवनिर्मित सशस्त्रप्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) केचना झापाको उद्घाटन गरिएको छ । सोमबार एक समारोहबीच प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का बेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । सशस्त्र प्रहरी बल नेपालले विगतमा परिष्कृत भएर मुलुकको सीमा रक्षाका लागि तल्लीन हुनुपर्नेमा उनले जोड दिएका छन् । बजेटको सीमाले भ्याएसम्म सरकार विकासका काममा लागिरहने राईले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएका छन् । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सरकारले संवेदनशील भई काम गर्ने बताए । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बिओपीको स्थापना गरिएको बताएका छन् । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नुहुन्न, तपार्इं हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ’, उनले भने ।

कार्यक्रममा नं १ बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति कमल गिरीले सीमा सुरक्षाको जिम्मेवारीबाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारी तल्लीन भएर सशस्त्र प्रहरीले गरिरहेको बताए । भवन निर्माणका लागि आर्थिक वर्ष ०७६÷७७ मा प्रदेश–१ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट १ करोड ४२ लाख १ हजार २ सय ३९ रुपैयाँ ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामीनारायण निर्माण सेवाप्रालिले १ करोड ३९ लाख १७ हजार ५ सय ६४ रुपैयाँ ४२ पैसामा पाएको थियो ।

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमाकुमारी गणेशलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । समारोहमा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्यसचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय