
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण संरचना मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।
मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै बिहीबार संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन्। संग्रहालय अवलोकनपछि मन्त्री आलेले संग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए। त्यसैगरी, गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए।

त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीलाई मर्मतका साथै रङरोगन गरेर राख्न पनि निर्देशन दिइएको उनले जानकारी दिए। उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन्।
उनले संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचना भत्काइसकिएको बताए। संग्रहालय परिसरलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे ।