
दाङ । दाङमा प्रहरीले विभिन्न घरेलु हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ निवासी २५ वर्षीय सन्तोष बस्याल, तुलसीपुर-३ का १६ वर्षीय मनोज बिक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, तुलसीपुर -६ का २१ वर्षीय केतु ओली र तुलसीपुर-९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आइतबार बिहान ५ बजेतिर तुलसीपुर-३ भ्युडरस्थित खालीगोठबाट ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनका अनुसार मादक पदार्थ सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाइटर एक थान, खुँडा एक थान, हँसिया ३ थान र बन्चरो १ थान साथमा राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीले तुलसीपुरबाट अपहरणको अफवाह फैलाउने एकजना पक्राउ गरेको छ। शनिबार राति करिब १० बजेको समयमा तुलसीपुर-५ एकान्त होटेलमा खाना खाई मापसे गरी आफूलाई चारजना व्यक्तिले अपहरण गरी जङ्गलमा लगेको बताउने एकजना व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-४ निवासी ४० वर्षीय खिमबहादुर वली रहेका छन्।
उनले आफूलाई अपहरण गरेको भन्दै प्रहरीलाई फोन गरेका थिए। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले आइतबार बिहान ४ बजे तुलसीपुर-३ दमारगाउँबाट पक्राउ गरेको छ।