
काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ ।
चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ ।

गत १५-१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका थिए । आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आएका छन् । थापाले सो विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुईपटक अध्यक्षलाई पत्र लेखिसकेका छन् । थापाले पहिलोपटक २७ मंसिर र दोस्रोपटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखी औपचारिक आग्रहसमेत गरेका थिए ।
आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् ।