
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) ९ वैशाखदेखि सुरु हुने भएको छ । एसइई प्रदेशस्तरमा सञ्चालन हुनुपर्ने आवाज उठे पनि आवश्यक पूर्वाधार र तयारी नहुँदा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बुधबार बसेको बोर्ड बैठकले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । ३० वैशाखमा स्थानीय तहको चुनाव हुने निर्णय भएकाले त्यसको तयारीका लागि १० दिनअघि नै सक्ने गरी परीक्षा तोकिएको अध्यक्ष शर्माले बताए । १७ वैशाखमा साधारण विषयको परीक्षा सकिनेछ भने २० वैशाखसम्म प्राविधिक धारका विषयको समेत परीक्षा सम्पन्न हुनेछ ।
यस वर्षको एसइईमा देशभरबाट पाँच लाखको हारहारीमा विद्यार्थी सहभागी हुँदै छन् । दुई हजार एक सयको हाराहारीमा परीक्षा केन्द्र रहने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । परीक्षाको तयारीअन्तर्गत प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका छपाइलगायत काम भइरहेको पनि उनले बताए । प्रश्नपत्र हार्डकपी तयार गर्ने वा इमेलमार्फत पढाउने भन्नेबारे भने निर्णय नभएको उनको भनाइ छ । बोर्डले कक्षा १२ को परीक्षामा इन्टरनेटको सुविधा नभएका ठाउँबाहेक सबै परीक्षा केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाउने गरेको छ ।
