
काठमाडौं । नेपाली काँग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ । यसअघि कोरोना महामारीका कारण सबै जिल्लामा अधिवेशन हुन सकेको थिएन ।
शुक्रबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी १३ जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो । १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भए उक्त दिन नै सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन हुने समेत बैठकले निर्णय गरेको बताइएको छ ।

त्यस्तै समितिको बैठकले जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेको तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही फागुन १० गतेभित्र सम्पन्न गर्न समेत समितिले सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्लामा अधिवेशन हुनेछ ।