काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको आगामी बैठकमा अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता टेबल गर्ने मनस्थिति बनाउनुभएको छ ।

एमसिसीलाई संसद्मा टेबल गर्ने विषयमा सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाउन असफल भए पनि प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसिसी सम्झौता टेबल गर्ने मनस्थिति बनाउनुभएको हो । सत्ता गठबन्धनभित्र सहमति जुटाउन कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा गठबन्धनका नेताहरूसँग निरन्तर छलफल गरिरहनु भएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश सदस्यहरूले सम्झौतालाई अनुमोदनको लागि संसदीय प्रक्रियामा लैजानुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सत्तासाझेदारहरूको सहमतिबिना पनि संसद्को आगामी बैठकमा नै एमसिसी सम्झौता टेबल गर्ने मनस्थितिमा पुग्नुभएको हो । त्यसो त प्रधानमन्त्री देउवालाई एमसिसी सम्झौता अनुमोदनका लागि अमेरिकाले तीव्र कूटनीतिक दबाब दिइरहेको छ । यद्यपि, प्रधानमन्त्री देउवा सम्झौतालाई संसदीय प्रक्रियामा लैजानको लागि सत्ता गठबन्धनभित्र सहमति जुटाउन निरन्तर प्रयास गरिरहनु भएको छ ।

सत्ता गठबन्धनभित्र सहमति जुटाउने प्रयासस्वरूप प्रधानमन्त्री देउवाले शनिबार पनि गठबन्धनका शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतालाई संसदीय प्रक्रियामा लैजान अब विलम्ब गर्न नहुने भन्दै प्रतिनिधिसभाको आगामी बैठकमा एमसिसी टेबल गर्न प्रस्ताव राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय