
काठमाडौं। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले राजनीति गर्नका लागि पार्टी बनाउने भन्दा पनि देश बचाऊने राजसंस्था अनिवार्य रहेको बताएका छन्।
त्यसका लागि शिव सेना नेपालले राजसंस्था समर्थक र हिन्दू धर्मको रक्षाका निम्ति अभियान जारी राखेको पनि बस्नेतले बताएका छन्। ‘देश चलाउनका लागि पार्टी बनाउने होइन, देश बचाउनका लागि हामी लागि परेका छौं। विदेशीको क्रिडास्थल बनाएर धर्म मासियो’, उनी भन्छन्,‘देश बचेको खण्डमा महाराजधिराज सरकार एक्लैले चलाउने होइन, त्यसपछि जोसुकैले पनि चलाउन सक्छ। प्राथमिक आवश्यक राजसंस्था पुनःस्थापना हो।’

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रकरणमा प्रमुख दलहरू उदाङ्गो भइरहँदा देश नै धरौटी राख्ने काम भएको चर्चा चलिरहेको छ। विदेशीलाई बाहलवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले तल्लो स्तरमा गिरेर पत्र पठाएको बेला शिव सेना नेपालको यस्तो प्रतिक्रिया आएको हो।
‘यो व्यवस्थामा विदेशीले मुलुकलाई कतिसम्म हानि गरेको छ भन्ने विषय उदाङ्गो भइसकेको छ। धर्म मास्ने र विदेशीका पाउमा मुलुकलाई बुझाउने यो आयातित व्यवस्थाको विरोधमा अब शिव सेना नेपालले अभियान थालेको छ’, बस्नेत थप्छन्,‘देश बचाऊने विषयमा सबै नेपाली एकताबद्ध हुन आवश्यक छ, हामी त्यहि आह्वान गर्दछौं।’