
बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा कांग्रेसले ०४८ सालदेखि अहिलेम्म विकासका धेरै काम गरेको बताएका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ को क्षमादेवी आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेता बस्नेतले आफूले गरेका कामको प्रचार प्रसार गर्न नसक्दा कांग्रेस पराजित हुने गरेको बताए ।

‘कांग्रेसले हिजो धेरै काम गरेको थियो । तर, आफूले गरेको कामको मार्केटिङ गर्न सकेन । समाजमा भन्न सकेन’, उनले भने, ‘कांग्रेसले ०४८ सालदेखि अहिलेसम्म धेरै काम गरेको छ । कांग्रेसका नेताले त्यो कम्युनिस्टलाई भोट हालेका छन् ।’
उनले भने, ‘आज कम्युनिस्टले स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार कम्युनिस्टको भएर दुईतिहाइको नजिकको सरकार भएर हाल के भयो ? के भयो मुलुकमा ? दुईतिहाइ नजिकको सरकार आफै बाँडफाँड गरेर खाँदा नभ्याएर आफ्नै लडाइँले सिद्धियो ।’
‘अब प्रचण्डले भोट शेरबहादुर देउवालाई हाल्ने । माधव नेपालले भोट शेरबहादुर देउवालाई हाल्ने । बाबुराम भट्टराईले भोट शेरबहादुर देउवालाई हाल्ने’, नेता बस्नेतले भने, ‘यहाँ कम्युनिस्टलाई हालेको भोट नेताले जम्मै कांग्रेसलाई हाल्ने भएपछि स्थानीय जनताले अब भोट कम्युनिस्टलाई किन हाल्ने ? यो बिचौलिया किन बनाउने ? उनीहरूले उता भोट हाल्ने हो भने तपाईहरूले भोट हामीलाई हालिदिए भइहाल्यो नि ।’
उनले भने, ‘अबको चुनावमा देशभरिका कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छन् । हजारौँको संख्यामा कम्युनिस्ट छाडेर पनि गइरहेका छन् ।’
‘कांग्रेसले कांग्रेसलाई भोट नहाल्नेहरूलाई किनारा लगाइदिनुपर्छ’, बस्नेतले भने, ‘राम्रा कम्युनिस्टलाई सहयोग गर्नुपर्छ । कांग्रेसमा ल्याउनुपर्छ ।’
नेता बस्नेतले सिन्धुपाल्चोकमा एकथरी कांग्रेसलाई अधिवेशनमा जिताउन माओवादीले भोट मागेको समेत बताए ।
‘माओवादीका कार्यकर्ताहरू कांग्रेसको अधिवेशनमा एउटा पक्षलाई भोट हालिदिनु पर्छ भनेर हिँडिरहेको छ’, उनले भने, ‘माओवादी र एमालेले भोट मागिदिने कांग्रेस कस्तो होला ? त्यो कुरा बुझ्न जरुरी छ ।’
उनले भनेका छन्, ‘कांग्रेस भन्नेहरूले पनि कम्युनिस्टलाई स्कुलको निर्वाचनमा समेत भोट हाले । पाइप काट्ने कम्युनिस्टलाई भोट हाल्छन् ।