काठमाडौ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ ।

सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ ।

यसअघि फोहर व्यवस्थापनस्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त स्थानमा फोहर व्यवस्थापनको कम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहुँदा दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको काम अझै अन्योल भएको छ ।

विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न भएको भन्दै औपचारिक जानकारी गराउँदै फोहर व्यवस्थापन गर्न सक्ने बताएको थियो । महानगरले भने निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

सहरी विकास मन्त्रालयले आफूसँग सम्बन्ध रहेको सेल निर्माणको काम एउटा सकिएको र अर्को सेल पनि जतिसक्दो छिटो पूरा गर्ने तयारी रहेको भन्दै अन्य काममा आफ्नो जिम्मेवारी नरहेको जनाएको छ ।

दुई हप्ताअघि नै पहिलो सेल निर्माणको काम सम्पन्न गरी जानकारी गराएर फोहर व्यवस्थापन गर्न सक्ने बताए पनि व्वस्थापनको काम सुरु गर्ने भनेर महानगरलगायत उपत्यकाका १७ वटै स्थानीय तहबाट जानकारी नआएको विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले गर्ने काम सकेका छौँ, स्थानीयसँगको समन्वय र अन्य व्यवस्थापनको काम मिलाउने जिम्मा स्थानीय तहकै हो, त्यसैले अब फोहर व्यवस्थापन किन हुन सकेन भन्नेमा हाम्रो दोष छैन, विभागको काम अब सक्दो छिटो दास्रो सेल निर्माण सक्ने हो ।”

विभागका अनुसार नियमितरूपमा काम गर्न पाए आगामी छ महिनाभित्र दोस्रो सेल र सोही स्थानमा कर्मचारी व्यवस्थापन गर्ने भवन निर्माणको कामसमेत पूरा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय