
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको ’विनियोजन विधेयक, २०७८’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाबाट गत सोमबार नै पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको थियो । प्रमुख प्रतिपक्ष एमालेको अवरोधकै बीच राष्ट्रिय सभाबाट विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा पठाइएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको हो ।