
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा तेस्रो धारका नेताहरुले वैठक वहिष्कारको चेतावनी दिएका छन् । जसका कारण एमालेमा फेरी विवाद आउने सम्भावना बढेर गएको छ । पार्टी एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको कार्यान्वयनका विषयमा प्रश्न उठेपछि एमालेमा विवाद भएको हो ।
शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा पार्टीलाई १० बुँदे प्रस्तावको भावना अनुसार २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील बनाउनुपर्ने कुरा उठेपछि ओलीले त्यस विषयलाई एजेण्डा बनाउन अस्वीकार गरेका छन् । एमालेमा तेस्रो धारका भनेर चिनिएका नेताहरुले बैठक बहिस्कार गर्नेसम्मको चेतावनी दिएका छन् । उनीहरुले पार्टी एकता प्रस्तावको कार्यन्वयन र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा बन्नु पर्ने माग अगाडी सारेका छन् ।

शुक्रबारको बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ । तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट नभएसम्म कुनैपनि बैठकमा सहभागी नहुने बताएका छन् ।
उनीहरुले तेस्रो धारको नेतृत्व गरेका १० जना नेताहरुलाई पनि बैठकमा सहभागी नहुन दवाव दिइरहेका बुझिएको छ । सुदूरपश्चिमका नेताहरु झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले तेस्रो धारका नेताहरुलाई बैठक बहिष्कार गर्न दबाब दिएका हुन् ।
असन्तुष्ट नेताहरु समूहगत छलफलमा सहभागी नहुने भएका छन् । एमालेमा तेस्रो धारमा यस अघि माधव नेपाल निकट रहेका नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।