
काठमाडौ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न यही असोज ११ गते काठमाडौं बृहत्त विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त सभामा सहभागी हुन पनि मोर्चाले आम नागरिकलाई आह्वान गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर मोर्चाले उक्त विरोधसभामा हुनको लागि आह्वान गरेको छ । ०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको गम्भीर आरोप छ ।

संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ । त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले विश्वमा हिन्दू धर्मको एकमात्र देश नेपाललाई ईसाइकरण गर्न खोजिएको भन्दै सरकार पक्षमाथि आरोप लगाए । स्वीस बैँकमा नेपालीको अरबौँको भ्रष्टाचारको पर्दाफास भएसकेको उनले सुनाए । उनले भने,‘प्रधानन्याधीश संवैधानिक इजलासमा बस्नुहुँदैन भन्छन् । तर, यहाँ बस्दो रहेछ । नेपालमा प्रधानमन्त्री परमादेशले नियुक्त हुन्छ । बुद्व भूमिमा १७ हजार मानिस मार्ने व्यक्तिले नेपाल चलाईरहेको छ ।’
नेपाललाई संवैधानिक राजसंस्था बनाउनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे । आफूहरुले अघि सारेका माग र मुद्दाको सवालमा संयुक्त रुपमा गएमात्र देशले निकास पाउने उनको भनाई छ । यही असोज ११ गते ११ बजे भृकुटीमण्डपबाट विरोधसभा सुरु भएर बसन्तपुरमा पुगेर कोणसभा गरिने जानकारी गराए । उनले सम्पूर्ण नेपालीलाई विरोधसभामा आउन र सहभागी हुन आग्रह गरे । उनले भने,‘प्रचण्डले तीन दिन अघि भनेका थिए की प्रतिक्रियावादी संविधानलाई खारेज गर्नपर्छ । यो नक्कली दस्तावेज हो ।’ उनले नेपालको संविधान २०७२ फास्ट–ट्रयाकबाट निर्माण गरिएको संविधान रहेको सुनाए ।
उनले संविधान कसले बनायो भन्ने प्रस्ट नरहेको बताए । उनले कसले बनायो यो संविधान भन्दै प्रश्न गरे । संविधानले संघीयता, धर्मनिपेक्षतालाई लिएर नेपालको संस्कृति मास्ने काम भएको बताए । नेपालको राष्ट्रिय रंङभन्दा फरक संविधानमा ‘बाइबल’ कलर किन राखियो भन्दै उनले प्रश्न तर्साए ।
एमसीसीको आर्टिकल–५ अमेरिकाको कानून र भविष्य भन्दामाथि नेपालको कानुन भयो भने एमसीसी नेपालको कानूनभन्दा माथि हुने व्यवस्था गरिएको उनले प्रष्टाए । कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका संयोजक हरिबोल भट्टराई , तारानाथ लुइटेल, श्रीराम कँडेलल,विक्रम बम लगायतले नेपालजस्तो मुलुकमा धर्मनिरपेक्षता बनाईनु दुःखद् भएको बताएका थिए ।