
काठमाडौ । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । सोमबार विशेष अदालतमा उनी उपस्थित भएका थिए । शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
