
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन निर्धारित मितिकै हुनेमा आशंका कायमै छ ।
अधिवेशनले दुई खुड्किला पार गर्नै लाग्दा पनि क्रियाशील सदस्यता विवादकैबीच भदौ १८ गतेदेखि सुरु भएको अधिवेशनको प्रक्रियाले दुई चरण पार गरिसक्दा पनि विवाद समाधान हुन सकेको छैन ।

महाधिवेशन केन्द्रीत विवाद र रस्साकस्सी चुलिँदो छ । मुख्यगरी नेतृत्व आकांक्षीहरूको जसरी पनि नेतृत्व कब्जा गर्ने मनसायले अधिवेशन प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि विवाद उत्कर्षमा जाँदो छ । पार्टीभित्रको बढ्दो विवाद र घम्साघम्सीले फेरि पनि महाधिवेशन प्रभावित हुने आशंका बढेको छ ।
पार्टीे संस्थापन पक्ष महाधिवेशन प्रक्रियाले सहज रूपमा गति लिइसकेकाले अब महाधिवेशनप्रति आशंका गर्नुपर्ने कारण नरहेको जिकिर गर्छ । तर, पार्टीभित्रको संस्थापनइतर पक्षले भने अझै पनि निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न हुनेमा आशंका गर्न छोडेको छैन ।
संस्थापनइतर पक्षको आशंकालाई संस्थापन पक्षले भने महाधिवेशन केन्द्रीत भोटको सस्तो प्रचारवाजीको रूपमा लिएको छ । वडा र पालिका तहमा आफू अनुकल परिणाम नआउँदा असन्तुष्टि प्रकट गरेर खेलिदिँदा समयमा महाधिवेशन नहुने भनेर हल्लाखल्लाको वातावरण बनेको संस्थापन पक्षीयको भनाइ छ ।
कांग्रेस महाधिवेशन लामो समयसम्म क्रियाशील सदस्यता विवादका कारण पटक–पटक निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । अधिवेशन भइसकेका वडा र स्थानीय तह पनि विवाद मुक्त छैनन् । कतिपय विवाद प्रक्रियागत छन् भने कतिपय अधिवेशनलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । क्रियाशील सदस्यतादेखि आफ्नो दुनो बलियो बनाउन सुरु गरेका पार्टी नेतृत्वका आकांक्षीहरू आफ्नो पल्लाभारी बनाउन अहिले पनि विभिन्न बखेडा झिक्न छोडेका छैनन् ।