
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार बाट गोदावरीमा सुरु हुँदैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ । महाधिवेशनका मूल आयोजक कमिटीका अनुसार ओलीले उद्घाटन गरेपछि सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यस्तै, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप–महासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
मूल आयोजक कमिटीका संयोजक रामबहादुर थापा बादलका अनुसार महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूहगत छलफलको कार्यसूची रहेको छ । समूहगत छलफलपछि समूह नेताबाट सुझावहरू प्रस्तुत गर्ने असोज १७ गते दस्तावेज प्रस्तोताहरूको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गर्ने तय भएको छ ।

एमालेका अनुसार महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ । महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा विधान महाधिवेशनका सम्पन्न हुने एमालेले जनाएको छ । महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि र कमिटीका सबै सदस्यहरू सहभागी हुनेछन् ।
यस्तै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरू, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरू पनि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानअनुसार मनोनीत भएका सदस्यहरू पनि सहभागी हुनेछन् ।
मञ्चमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरूको सिट व्यवस्थापन गरिएको छ । मूल सभाहलमा तीन हजार प्रतिनिधिहरू रहनेछन् । हलको दायाँ बायाँको खाली हलहरूमा एक÷एक हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ । हलको दायाँ बायाँका प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने एक÷एक हजार क्षमताका हल निर्माण गरिएको छ । सम्पूर्ण रूपमा सात हजार क्षमताका हलहरू तयार गरिएको र समूह छलफलका लािग पनि व्यवस्थित स्थानहरू तय गरिएको एमालेले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको बताइएको छ । महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।
निजी साधन नभएका प्रतिनिधिका लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरूको व्यवस्था गरिने एमालेले जनाएको छ । यस्तै, ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको बताइएको छ । महाधिवेशन सम्पन्न गर्नका निम्ति अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट दुई सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको बताइएको छ ।
कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको बताइएको छ । मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध आवश्यक नपर्ने र मिडिया सेन्टरबाट टिभी क्यामेराले लाइभ गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।