
विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल हाँस्यकलाकार गोपाल ढकाल छन्देले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७६ सालमा रिलिज भएको सुपर हिट चलचित्र पोइ पर्यो काले बाट सर्वोत्कृत्ट हाँस्य अभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।
क्वालिटी फिल्मस्द्धारा आयोजित क्वालिटी इन्टरटेन्मेन्ट अवार्डमा फिल्म,म्युजिक,फेशनका विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो भने चलचित्रतर्फ चौध विधामा अवार्ड प्रदान गरिएको थियो । उमेश गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्रीे बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष एवं प्रथम चलचित्र महिला निर्देशक शुचित्रा श्रेष्ठको हातबाट ढकालले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै सर्वोत्कृत्ट हाँस्यअभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।

पश्चिम नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको भिमादमा पिता स्व. श्री चुडामणी ढकाल र माता टेलुका माया ढकालको गर्भबाट सन् १९८६ फेब्रुअरी १८ मा कलाकार गोपाल ढकाल छन्देको जन्म भएको हो । समयको गतिसँगै राजधानी काठमाडौँलाई अध्ययन र कलाकर्म साधनाको केन्द्र बनाएका गोपाल ढकाल छन्देको प्रारम्भिक शिक्षा भिमाद २ तनहुँस्थित श्री बाल विद्याश्रम प्राथमिक विद्यालयबाट सुरु भएको हो ।
जीवनलाई सार्थक बनाउनका लागि इमान्दार,मेहेनती र नैतिकवान भएर आफूले रोजेको कर्ममा लाग्नुपर्छ भन्ने गोपाल ढकाल सामान्य स्टेज कार्यक्रमदेखि सडक नाटक,टेलिचलचित्र,ठूलो पर्दाका दर्जनौँ नेपाली कथानक चलचित्र लगायत युरोप,युकेका विभिन्न देशहरुमा साथै एसियाका आधा दर्जनभन्दा बढी राष्ट्रहरुमा आफ्नो प्रस्तुति पस्किसकेका प्रतिभा हुन् । हाँस्यकलाकार गोपालले भारतीय राजदुताबासको छात्रवृत्तिमा,भारतको पुणेमा अवस्थित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफ टि आई आई)बाट अभिनयको विशिष्ट कोर्स पुरा गरेका छन् । कलाकारिता र कलाकर्मको दौडानमा बेल्जियम,जर्मनी,फ्रान्स,नेदरल्याण्डस,लग्जमबर्ग,बेलायत,स्कटल्याण्ड,वेल्स,कतार,दुबई,मलेसिया,थाईल्याण्ड,लाओस जस्ता देशको भ्रमण गरिसकेका उनी एक परिपक्व,रसिक र भर्सटाईल व्यक्तित्व हुन् ।
नेपाली मौलिकता र स्वपनलाई कलामा ज्यादा प्राथमिकता दिने कलाकार ढकाल तितो सत्य टेलि श्रृंखलाबाट उदाएका हाँस्यकलाकार हुन् । अभिनय प्रशिक्षकका रुपमा काम गरेका ढकाल अनुभवि अभिनय प्रशिक्षक समेत हुन् । विभिन्न टिभी प्रोग्राम,सयौँ स्टेज कार्यक्रम साथैे दर्जनौँ टेलिभिजन च्यानलबाट लाईभ प्रस्तुति समेत दिईसकेका छन् । जीवनको हरेक क्षणलाई खुसीका साथ अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोपालले नेपाली सिने जगतका चर्चित चलचित्रहरु सावधान, भाइमारा, विष, छ एकान छ, दाइको ससुराली, दानवीर, देशदेखि विदेश, हात लाग्यो शून्य, इशारा, जंगबाज, खोज, मन परेपछि, नमस्ते, पहिलो पहिलो माया, नमस्ते नेपाल, पर्खीबसेँ, सपनाको नौलो संसार, वडा नं छ ,युद्ध, लभ यु हमेशा, पोइ पर्यो काले आदिमा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् भने पछिल्लो समय चिट्ठी चलचित्रमा व्यस्त छन् ।
नेपाली, हिन्दी, अंग्रेजी भाषामा पारंगत उनको मूल पहिचान हाँस्यकलाकार भएपनि उनको चरित्र निर्वाह बहुआयमिक,भर्सटाइल र अत्यन्तै प्रभावशाली पाईन्छ । देश विदेशका विभिन्न अवार्डहरु, सम्मानहरुबाट सम्मानित उनी बेस्ट कमेडियन आर्टिस्टका रुपमा सुपरिचित छन् । उत्कृष्ट हाँस्य अभिनेताको अवार्डले आफूमा अझै कर्म गर्ने जोश,जाँगर बढेको र आगामि दिनमा अझै सक्रिय रुपमा नयाँ नयाँ चरित्र मार्फत दर्शकको मन जित्ने गोपालले बताए ।