
काठमाडौ । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दसैँ भत्ता नपाउने भएका छन् ।
संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको खातामा असोज महिनाको मात्र तलबभत्ता गएको छ भने दसैँ भत्ता पठाइएको छैन ।

गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दसैँ भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दसैँभत्ता नदिएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् ।
संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पिएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको छ ।