
पछिल्लो समयमा काठमाडौं उपत्यकामात्र नभएर देशैभर संक्रमण फैलिएको छ । कोरोना भाइरसको त्रास रहिरहेका बेला फेरि डेंगोको प्रकोप बढेकाले जनजिवन अस्तव्यस्त भएको छ । सरकारले मानिसलाई दैनिक आवश्यक पर्ने सिटामोल समेत उपलब्ध गराउन सकेको छैन । डेंगोको बिरामीको रोकथामका लागि सिटामोल अनिवार्य भएको छ तर सिटामोलको अभावमा बिरामीहरु थप संकटमा परेका छन् । कोरोना संक्रमणमा मानिसहरुले आफैं सजगता अपनाएर ठूलो रुपमा मानवीय क्षति भएन, सरकारले यसलाई सफलता मानेको छ । सरकारले प्रभावकारी कदम चालेको भए कोरोनाका कारण मानिसहरु त्यसरी पीडित हुनेपर्ने नै थिएन ।
हैजा बढ्दा पनि सरकारले त्यसको रोकथामका लागि कुनै पनि कदम चालेको छैन । सरकारलाई पनि निर्वाचन लागेकाले उनीहरु सधैं दलीय भागबण्डामा नै रमाइरहेका छन् । अरु बेला पनि जनताको वास्ता नगर्ने उनीहरुलाई निर्वाचन भनें भाग्ने अर्को कडी बनेको छ । जुनसुकै सरकार पनि जनताप्रति उदासीन छ । काठमाडौंमा नै सिटामोलको अभाव भएपछि विकट र दुर्गम वस्तीहरुको अवस्था कस्तो होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । सरकारले सम्भव भएसम्म सिटामोल नेपालमै उत्पादन गर्ने प्रयत्न गर्नुुपर्छ त्यो पनि नभए अलिकति महंगो तिरेर भए पनि आयात गरेर जनतालाई स्वास्थ्य सेवा सुलभ गर्नु सरकारको दायित्व हो, यो कर्तव्यबाट सरकार पूरै चुकेको छ । सिटामेलसमेत दिन नसक्ने सरकारले अरु के दिएला ? भनेर मानिसले दिनहुँजसो प्रश्न गर्दै आएका छन् । आजभोलि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।

अस्पताल प्रशासनको लापरबाही र प्रशस्तै मात्रामा स्वास्थ्य सतर्कता नअपनाउँदा अस्पताल नै रोग निम्तिने घरजस्तै भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा सरकारले निःशुल्क दिने भनेका औषधिसमेत पाइदैन, त्यहाँका प्रमुखले औषधि दोकानसँगको मिलेमतोमा बेच्ने गरेको आरोप पनि लाग्ने गरेको छ । संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा राखेको छ तर जति नै पैसा तिर्दा पनि भनेजस्तो स्वास्थ्य सेवा नपाउनु र अकालमै ज्यान गुमाउनु नागरिकको पीडा बनेको छ । नेपालमै सिटामोलको उत्पादन गरेर सेवा दिनेतर्फ सरकारको ध्यान गएको छैन । कतिपय अवस्थामा बाहिरबाट ल्याउँदा कमिशन पाइन्छ भनेर पनि सरकारले बेमतलब गरेको पनि हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
पटक पटक भएका राजनीतिक परिवर्तनमा पनि जनताको नाममा नारा लगाइन्छ तर जनताको भावना बुझ्ने काम कसैले गरेका छैनन् यो दुःखको विषय हो । सरकारमा हुँदा आफूले केही नगर्ने र कार्यकाल सकिएपछि अरुलाई गाली गर्ने पुरानो परम्पराले देश र जनताको विकास सम्भव छैन भन्ने आजै बुझ्नु जरुरी छ ।