
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिगको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।
एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको हो ।

‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।
भदौ ६ गते रात अन्दाजी १२ः २५ बजेसम्म पटक–पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् ।
अनुसन्धानका विभिन्न विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सन्दीपले नाबालिगलाई पटक–पटक बलात्कार गरेको जाहेरी
जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।
जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९–०५–०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अं. २३ः५५ बजे का. जि. का. म. न. पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९–०५–०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९–०५–२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी परेको छ ।’