
काठमाडौ । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि नेपालगञ्जकी अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । उक्त घटनाको छानबिनकामो माग राखी बाँके जिल्लाबाट गत असोज १ गतेदेखि पैदलयात्रा गरी २० दिनमा काठमाडौँ आइपुग्नुभएका खानले आमरण अनसन सुरु गरेकी थिइन् ।
गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि मंगलबार खान अनसनरत स्थान माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका हुन् ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै न्यायका लागि खान १२ दिनदेखि आमरण अनसन बसेकी थिइन् । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरु नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृहमन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका गरी छ सदस्यीय समिति गठन गरिएको छ ।
सहमतिमा ७ दिनभित्र उक्त घटनाको प्रतिवेदन तयार गरी बुझाउने र त्यसका लागि गृहमन्त्री बालकृष्ण खाणद्वारा आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको जानकारी गृह प्रवक्ता पोखरेलले दिएका छन् ।
आमरण अनसन तोड्नुअघि खानले सरकारसँग भएको सहमतिले सम्पूर्ण महिलाको जीत भएको र समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिइन् ।