काठमाडौ । वागमती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन् ।
हेटौंडामा बसेको केन्द्रीय सत्तारूढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो । सहमतिअनुसार अघिल्लो चरणमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्यमन्त्री बन्ने हुनुभएको छ ।

मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा चलेको थियो । १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले ७ महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएकोे छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।
प्रदेशसभामा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले टेबल गर्नुभएको विश्वासको मतसम्बन्धी छलफल शुरु भएको छ । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएपछि सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिनुभएको थियो । बैठकमा मुख्यमन्त्री शाक्यले एमाले सरकारले गरेका कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरूप नेकपा एमालेले प्रदेशसभाको बैठक सार्न सभामुख सानुकुमार श्रेष्ठ र सचिवालयका सचिव कृष्णहरि खड्कालाई बुधबार पत्र पठाएको थियो । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भएकाले कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुखसमक्ष आग्रह गर्दै पत्र पठाएको हो । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ अधिवेशन हुँदै छ ।

भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्य स्पष्ट अल्पमतमा हुनुहुन्छ । एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा पर्नुभएको हो । वागमती प्रदेशसभामा हाल १ सय ९ जना प्रदेशसभा सदस्य छन् । प्रदेश सरकार गठनका लागि ५५ सांसदको साथ आवश्यक पर्दछ । कुल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसँगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्रका, २२ नेपाली कांग्रेस, ३ विवेकशील साझा, २ नेपाल मजदुर किसान पार्टी, २ राष्ट्रिय प्रजातन्त्र पार्टी र १ जना जनता समाजवादी पार्टीका सांसद छन् ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १ सय ८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १ सय ४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । सोही प्रस्तावमाथि बैठकमा छलफल भएको र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । वागमती प्रदेशसभाको अर्को बैठक कात्तिक १० गते बस्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय