काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि आन्दोलन गर्ने घोषणा गरेको छ । २०४७ सालको संविधानलाई टेकेर गरिएको सम्झौता अक्षरशः पालनाको माग गर्दै, मोर्चाले छठपछि आन्दोलन गर्ने भएको हो ।

मोर्चाले बुधबार संघीय राजधानी काठमाडौमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको पाँच बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले असोज २६ गते फूलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई मोर्चाले आग्रह गरेको हो ।

कार्यक्रममा बोल्दै मोर्चाका कार्यकारिणी अध्यक्ष तारानाथ लुइँटेलले राजनीतिक दलहरूले प्रजातान्त्रिक समाजवादको नारा लिएर जाने र जनताको समस्या, इच्छा आकांक्षालाई चुनावी एजेण्डा मात्र बनाउने गरेको आरोप लगाउनुभयो । उहाँले राजसंस्था बिनाको प्रजातन्त्र मुलुकमा सान्दर्भिक हुन नसक्ने जिकिर गर्नुभयो ।

त्यस्तै, मोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजंग रायमाझीले मुलुक गम्भीर परिस्थितिमा गुज्रिएको बताउनुभयो । देशलाई संकटबाट मुक्त गर्न तुरन्त राष्ट्रिय गोलमेच सम्मेलन गर्न सरकारसँग माग गर्नुभयो ।

मोर्चाका सहअध्यक्ष विष्णु भट्टराईले सरकारले जनताको समस्यालाई चुनावी एजेण्डा मात्र सीमित बनाएको आरोप लगाउनुभयो । यसैगरी, मोर्चाका उपाध्यक्ष कृष्ण गोपाल श्रेष्ठले मुलुकको प्रगति र समृद्धि गर्नलाई सबैभन्दा पहिला देशको माया मनमा हुनुपर्ने बताउनुभयो । गणतन्त्रले अहिले राष्ट्रको समस्यालाई सम्बोधन गर्न नसक्ने स्पष्ट भएको उहाँको आशय थियो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष विक्रम बमले एमसिसी सम्झौताले नेपालको आफ्नो अस्तित्व, सार्वभौम अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रभूतामाथि आँच आउने जिकिर गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष रजनी मल्लले देशमा धर्मनिरपेक्षता आएदेखि असुरक्षित हुँदै गएको बताउनुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेश कँडेलले देशमा भइरहेको अस्त्यव्यस्तबाट मुक्ति दिन, डुब्न लागेको देश बचाउनको लागि जनआन्दोलन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सबैलाई विचार र उद्देश्यको हिसाबले पनि एक ठाउँमा आएर मोर्चाबन्दी गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय