
बुटवल । विश्व ओमकार एकता महाभियानद्वारा आयोजित ‘विराट धर्म सभा’ सुरु भएको छ ।
नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित विश्व ओमकारले रुपन्देहीको भैरहवामा सभा आयोजना गरेको हो । आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने छ ।

सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् । भारतको, उडिसा, जगन्नाथपुरीस्थित गोबर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्दको पनि आइसकेका छन् ।
नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताए ।
वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका ६० जनाभन्दा धेरै धर्मगुरुको आगमन भैरहवामा भइसकेको छ ।
सभामा १ सयभन्दा धेरै धर्मगुरु र कथावाचक आउने अनुमान आयोजकले गरेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले सोमबार सम्बोधन गर्ने कार्यक्रम छ ।
धर्मसभामा देशभरबाट आएका धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट समेत पाँच हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।