
नयाँ दिल्ली । बलिउड निर्देशक अयान मुखर्जीको बहुप्रतिक्षित फिल्म ‘वार २’ को धमाधम छायांकन भइरहेको छ । भर्खरै एउटा भिडियो सार्वजनिक भएपछि फिल्मप्रति फ्यानहरूको उत्साह झन् बढेको छ ।
सन् २०१९ मा रिलिज भएको चलचित्र वारको सिक्वेलले मानिसको मनमा विशेष स्थान बनाएको थियो । अब भने फ्यानहरूले यो फिल्मको दोस्रो किस्ता कुरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले ‘वार २’ को सुटिङ सुरु गरिसकेकी छन् ।अभिनेत्री बुधबार मुम्बईस्थित यशराज फिल्म्सको अफिसमा देखिएकी थिइन् । फिल्ममा कियाराबाहेक ऋतिक रोशन र जुनियर एनटीआर पनि मुख्य भूमिकामा देखिनेछन् । यसअघि पनि सेटबाट ऋतिक र जुनियर एनटीआरको तस्बिर भाइरल भएको थियो ।

‘वार–२’ यश राज फिल्म्सको स्पाई युनिभर्सको छैटौँ फिल्म हो । यो युनिभर्समा यसअघि सलमान खानको ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ऋतिक रोशनको ‘वार’, शाहरुख खान र दीपिका पादुकोणको पठान र हालैको ‘टाइगर ३’ थियो ।स्रोतका अनुसार फिल्मको छायांकन छिटै सकिने सम्भावना छ । ऋतिक रोशनले यसै महिनाको अन्त्यसम्ममा आफ्नो भागको सुटिङ पूरा गर्न सक्नेछन् ।
फिल्ममा कियारा आडवाणीको क्यारेक्टर कस्तो रहनेछ भन्ने थाहा हुन सकेको छैन । सामाजिक सञ्जालमा लिक भएका भिडियो र तस्बिरहरू देखेर फ्यान निकै उत्साहित छन् । कियाराको इन्ट्री र फिल्मको अर्को पार्टलाई लिएर धेरैले आफ्नो धारणा पनि राखेका छन् । ‘वार २’ ले फ्यानका अपेक्षालाई कसरी पूरा गर्छ त्योचाहिँ हेर्न रोचक हुनेछ ।