
काठमाडौँ । सरकारले कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोप छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक सो मुद्दा किनारा नभएसम्म स्वतः निलम्बित हुने व्यवस्था छ । नेपालमा भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बित हुने अर्याल पहिलो मुख्यसचिव हुन् ।

भ्रष्टाचारमा डामिएका अर्यालले राजीनामा नदिएपछि तत्कालीन सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । अर्याल निलम्बनमा परेसँगै तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकेको थियो । प्रधानमन्त्री कार्यालयको वरिष्ठ सचिव भएका कारण उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
पछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सरकारले उनलाई कायममुकायम मुख्यसचिव बनाएको थियो । कानुन सेवाबाट सचिव भएकी गड्तौला ५८ वर्ष उमेर हदका कारण आगामी १५ भदौमा अनिवार्य अवकाशमा जाँदै छिन् ।
२०२३ सालमा तेह्रथुमको म्याङ्लुङमा जन्मिएकी गड्तौलाको निजामती सेवा प्रवेश भने न्याय सेवाबाट भएको थियो । २०५२ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी गड्तौला २०६३ साल कात्तिकमा उपसचिवमा बढुवा भएकी थिइन् । २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिवमा बढुवा भएकी उनले १७ वर्ष कानुन मन्त्रालयमै काम गरिन् ।
उनीसँग गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा काम गरेको अनुभव छ । उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गरेकी थिइन् ।नेपालको प्रशासनिक इतिहासमा हालसम्म २६ जना मुख्यसचिव भएका छन् । त्यसमा पहिलो पटक महिलाले प्रशासनिक क्षेत्रको नेतृत्व गर्ने मौका पाएकी हुन् ।
नेपालको प्रथम महिला सचिवको कीर्तिमान भने चन्द्रकला किरणको नाममा छ । उनी २०४१ सालमा उनी पहिलो महिला सचिव भएकी थिइन् । यस्तै, हाल परराष्ट्रसचिव रहेकी सेवा लम्साल पनि पहिलो महिला परराष्ट्र सचिव हुन् । नेपालमा हाल मुख्यसचिव गड्तौलासहित ८ जना महिला सचिव छन् ।