
काठमाडौं । देशकै राजधानी काठमाडौंको मध्ये बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय बिगतदेखि नै अभिभावकहरुको रोजाईको विद्यालय हो।गुणस्तरीय शिक्षाको सन्दर्भमा औंलामा गन्न सकिने केहि सामुदायिक विद्यालयको नाम लिंदा छुटाउँनै नमिल्ने स्थानमा आफुलाई स्थापित गराउन सफल भएकै कारण रत्नराज्यप्रति अभिभावकहरुको आकर्षण बढ्दै गएको हो।अभिभावकहरुको आकर्षणकै कारण यस विद्यालयमा विद्यार्थीहरुको चाप पछिल्ला बर्षहरुमा थेगी नसक्नु हुँदै आएको छ।
माध्यमिक तहमामात्र नभएर प्लस टु शिक्षामा समेत आफुलाई अग्रपंक्ति उभ्याउन थालेको राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो पटक सार्बजनिक गरेको नतिजाले पनि पुष्टि गरेको छ।

निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नतिजा खस्कंदै गएका बेला रत्नराज्यका आधा दर्जन बढी विद्यार्थीले ४ जीपीए नजिकको नतिजा ल्याउन सफल भएका छन्।सामुदायिक विद्यालय भएर पनि झण्डै सत्तरी प्रतिशत हाराहारीले प्लस टु उत्तीर्ण गर्नु र आधा दर्जन बढी विद्यार्थीले उच्च जीपीए ल्याउनु निजी विद्यालयका लागि कम चुनौतीको कुरा होइन।
यो विद्यालयमा अध्ययनरत छात्र छात्राहरुले माध्यमिक शिक्षा परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।यस बर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा समेत उत्कृष्ट नतिजा हांसिल गर्न सफल यो विद्यालयका दुई जना छात्रले ४ जीपीए ल्याउन सफल भएका थिए।
माध्यमिक शिक्षामा प्राप्त यस किसिमको उपलब्धि प्लस टु मा समेत हांसिल गर्दा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी र अभिभावकले प्लस टु मा समेत लाभ लिन सक्ने भएका कारण त्यसलाई साकार पार्ने गरी विद्यालय अगाडी बढेको प्रधानाध्यापक रामाशिष यादवको भनाई छ।यस बर्षदेखि विद्यालयले प्लस टु लाई समेत बिशेष प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए।
गत बर्षबाट बिज्ञान बिषयमा समेत कक्षा सुरु गरेको सो विद्यालयमा बिगतदेखि नै शिक्षा,मानविकी,म्यानजमेण्ट र कम्प्युटर साईन्समा कक्षा सञ्चालन गर्दै आएको थियो।
सामुदायिक विद्यालय भएपनि आकर्षक पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला समेत रहेको रत्नराज्यमा प्लस टु अध्यापनका लागि शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका अनुभवी शिक्षकहरु रहेका छन्।बिज्ञान बिषयका लागि नाम चलेका राजधानीका निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गरिंदै आएको छ।
निजी विद्यालयमा बिज्ञान अध्ययन गर्न लाग्ने ठुलो खर्च ब्यहोर्न नसक्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर बिज्ञान बिषय प्लस टु मा सञ्चालन गरिएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक यादवले बताए।यसरी ल्याइएका शिक्षकहरुलाई दिइने मासिक पारिश्रमिकका लागि बिज्ञान बिषय अध्ययनरत विद्यार्थीहरुबाट थोरै रकम लिने गरिएको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक यादव भन्छन्,- ‘राम्रो अध्ययन गर्ने विद्यार्थीले खर्चको अभावमा बिज्ञान बिषय पढ्न पाईन भनेर पश्चाताप गर्नु नपरोस् र विश्वविद्यालयको अध्ययनमा पनि उत्कृष्ट परिणाम हासिल गरी आफ्नो करिअर निर्माण गर्न सकुन् भन्ने हेतुले विद्यालयले प्लस टु शिक्षामा बिज्ञान बिषयलाई निकै महत्व दिएको हो।’
विद्यालयले प्रयोगात्मक र विद्यार्थीको चौतर्फी विकासलाई विशेष प्राथमिकता दिँदै आएको दावी गर्दै यादवले भने,’ विद्यार्थीको क्षमता विकासका लागि विद्यालयले खेलकुद,वर्कसप, लगायत अतिरिक्त क्रियाकलापलाई पनि जोड दिने गर्छ ।’